Method of Filling Passport Application Form

राहदानी आवेदन फाराम भर्ने तरीका 

१. थरः

थर लेख्दा नागरिकतामा भएको थर लेख्ने । यदी यस अघि जारी राहदानीमा भएको थर र नागरिकतामा भएको थर फरक परेको रहेछ भने पहिला जारी राहदानीमा भएको थर उल्लेख गर्न सकिने ।

विवाहित महिलाको हकमा नागरिकतामा पतिको थर कायम भएको रहेछ भने सोही अनुसार भर्नु पर्ने छ । तर पतिको थर कायम नभएकोमा निम्न अनुसार पतिको थर राख्न सकिने छ ।

क) यदी नेपाली नागरिक सँग विवाह भएको छ भने विवाह दर्ता र पतिको नागरिकताको प्रतिलिपि साथमा पेश गरी पतिको थर राख्न सकिने छ ।

ख) विदेशी नागरिकसँग विवाह भएको अवस्थामा पतिको थर राख्न सकिँदैन । तर यस अघिनै पतिको थर कायम गरी राहदानी जारी भै सकेको छ वा नागरिकतामा उल्लेख छ भने सोही अनुसार राहदानी जारी गर्न सकिने छ ।

२. नामः

नामको महलमा नागरिकता वा पुरानो राहदानीमा भएको नाम उल्लेख गर्नु पर्ने छ । यसरी नाम लेख्दा थर बाहेकको सबै नाम अर्थात् पहिलो र बीचको नाम उल्लेख गर्ने । तर Shree, Mr. Miss. Ms. Dr. जस्ता उपाधि भने लेख्न मिल्दैन ।

३. जन्मस्थान :

जन्मस्थानको महलमा नेपालमा जन्म भएको भएमा आफू जन्मेको जिल्लाको नाम (नागरिकतामा उल्लेख भए अनुसारले कायम हुने जिल्ला) र विदेश जन्मिएको भएमा आफू जन्मिएको मुलुकको नाम उल्लेख गर्ने । उदाहरणको लागि नेपालको गुल्मी जिल्लामा जन्मेको भएमा जन्मस्थान GULMI र डेनमार्कको Odense मा जन्मेका आवेदकले DENMARK भर्ने ।

४. राष्ट्रियताः

राष्ट्रियताको महलमा Nepalese भर्ने ।

५. A जन्म मितिः (इ. सं.)

जन्म मितिको महलमा नागरिकता वा नाबालिग परिचय पत्रमा उल्लेख भए अनुसार इस्वी संवत्मा  आफ्नो जन्म मिति उल्लेख गर्ने । तर निम्न अवस्थामा नागरिकतामा उल्लिखित विवरण भन्दा फरक हुन सक्ने छ ।

क) यस अघि जारी राहदानीमा नागरिकतामा उल्लिखित जन्म मिति फरक भएको र सोही अनुसार विदेशमा आफ्नो अभिलेख कायम भै सकेको रहेछ भने पुरानो राहदानीमा उल्लिखित जन्म मिति ।

ख) १० कक्षा वा सो सरहको शैक्षिक प्रमाण पत्रमा नागरिकतामा उल्लिखित जन्म मिति भन्दा फरक भएको शैक्षिक प्रमाणपत्र अनुसारको जन्म मिति ।

५. B जन्म मितिः (वि. सं.)

नागरिकता वा नाबालिग परिचयपत्रमा उल्लिखित जन्म मिति लेख्ने ।

६. लिङ्गः यस महलमा पुरुषले M र महिलाले F र तेस्रो तेस्रो लिंगीले O लेख्ने (नागरिकतामा भए अनुसार उल्लेख गर्नु पर्ने)

७. नागरिकता वा अनुमतिपत्र नम्बरः यस मलमा  नागरिकतामा उल्लिखित नागरिकता नम्बर भर्ने वा नाबालिगहरूको हकमा नाबालिग परिचय पत्रमा उल्लिखित जन्म मिति भर्ने । यदि नाबालिग परिचय पत्र बनी सकेको रहेनछ भने दूतावासले उपलब्ध गराएको अस्थायी नम्बर प्रयोग गर्ने ।

नागरिकता नम्बर लेख्दा १४ अङ्क सम्म मात्र भर्न सकिने भएकोले सो भन्दा लामो भएमा जति अङ्क बढी भएको हो त्यति वटा शुरुका अङ्क छोडी पछाडी पछाडिका १४ अङ्क मात्र भर्ने ।

८. जारी मितिः नागरिकता वा नाबालिग परिचयपत्रमा उल्लेख भएको जारी मिति भर्ने (विक्रम संवत्)

९. जारी भएको स्थानः नागरिकता वा नबालिग परिचयपत्र को हकमा सम्बन्धित जिल्लाको नाम र दूतावासबाट  अस्थायी नम्बर पाउनेहरू को हकमा सोही मुलुकको नाम लेख्ने अर्थात् यस दूतावासमा आवेदन दिँदा DENMARK उल्लेख गर्ने ।

१०. पुरानो राहदानी वा यात्रा अनुमतिपत्र नम्बरः यस मलमा यस अघि प्रचलनमा रहेको आफ्नो पुरानो राजधानी वा यात्रा अनुमतिपत्र को नम्बर उल्लेख गर्नु पर्नेछ

१०A. जारी भएको मितिः  पुरानो राहदानी वा यात्रा अनुमतिपत्र जारी भएको मिति(इस्वी संवतमा) लेख्ने ।

१०B. जारी भएको स्थानः जिल्ला वा ईलाका प्रशासन कार्यालयबाट जारी भएकोमा सम्बन्धित जिल्लाको नाम, राहदानी विभाग काठमाडौं बाट जारी भएकोमा  DOP Kathmandu तथा विदेश स्थित नेपाली नियोगबाट जारी भएकोमा सम्बन्धित मुलुकको नाम उल्लेख गर्ने ।

११. ठेगाना

११.A जिल्लाः नागरिकता वा नाबालक परिचयपत्रमा उल्लेखित आफ्नो स्थायी ठेगाना भएको जिल्लाको नाम उल्लेख गर्ने । यदी कानुनी रुपमा बसाई सराई भै सकेको भएमा बसाई सराई भएको जिल्लाको नाम राखी सो प्रमाणित गर्ने कागजात पेश गर्नु पर्नेछ ।

११.B नगरपालिका वा गाविसः  नागरिकता वा नाबालिग परिचयपत्रमा उल्लिखित स्थायी ठेगाना जुन हो सोही पालिका उल्लेख गर्ने । यदी हालको पालिकाको नाम नयाँ राखिएको छ भने हालको पालिकाको नाम लेख्ने ।

११.C वडा नं.:

स्थायी ठेगाना अनुसार हाल कायम पालिकाको वडा नम्बर उल्लेख गर्ने ।

११.D टोलः

स्थायी ठेगाना अनुसार आफ्नो गाउँ/टोलको नाम भर्ने ।

११.E घर नं. :

स्थायी ठेगाना अनुसार आफ्नो घर नं. उल्लेख गर्ने । यदी घर संख्या रहेनछ भने उल्लेख गर्नु पर्दैन ।

१२. ई मेलः

आवश्यक पर्दा सम्पर्क गर्न सकिने गरि आफ्नो ई मेल । ई मेल नभएमा भर्नु पर्दैन ।

१३. फोन नं. :

आवश्यक पर्दा सम्पर्क गर्न सकिने गरी आफ्नो फोन (सकभर मोवाईल) लेख्ने ।

१४. आपत परेमा खबर गर्ने निकटतम व्यक्तिः

१४.A नाम थरः

विदेशमा कुनै कारणले समस्यामा परी नेपालमा खबर गर्नु परेमा सम्पर्क गर्न सहज हुने गरी नेपालमा भएको आफ्नो निकटतम व्यक्तिको नागरिकतामा उल्लेख भए अनुसारको पुरा नाम थर लेख्ने । यस्तो नाम उल्लेख गर्दा नजिकको नातेदारको नाम उल्लेख गर्नु पर्दछ ।

१४. B ठेगानाः

१४.C जिल्लाः

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको नागरिकतामा उल्लेख गरिए अनुसार नेपालको स्थायी ठेगाना भएको जिल्लाको नाम लेख्ने । यदी नागरिकतामा उल्लिखित ठेगाना भन्दा हालको पालिकाको नाम नयाँ राखिएको छ भने हालको पालिकाको नाम लेख्ने ।

१४.D नगरपालिका वा गाविसः

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना जुन हो सोही अनुसार हालको पालिका लेख्ने ।  ।

१४.E वडा नं. :

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको नागरिकतामा उल्लिखित स्थायी ठेगाना जुन हो सोही अनुसार हालको वडा नं. उल्लेख गर्ने ।

१४.F टोल/गाँउ

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको नागरिकतामा उल्लिखित स्थायी ठेगाना जुन हो सोही अनुसार गाउँ/टोल उल्लेख गर्ने ।

१४.G घर नं. :

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको नागरिकतामा उल्लिखित स्थायी ठेगाना जुन हो सोही अनुसार घर नं. उल्लेख गर्ने । यदी घर संख्या रहेनछ भने उल्लेख गर्नु पर्दैन ।

१५. नाताः

आपत परेमा खबर गर्ने निकटतम व्यक्ति सँग आवेदकको नाता सम्बन्ध अर्थात् आफ्नो के पर्नुहुने हो सो उल्लेख गर्ने ।

१६. फोन नं:

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको आवश्यक पर्दा सहज रुपमा सम्पर्क गर्न सकिने फोन नम्बर उल्लेख गर्ने ।

१७. इमेलः

आपत परेमा खबर गर्ने निकटतम व्यक्तिको आवश्यक पर्दा सहज रुपमा सम्पर्क गर्न सकिने इमेल ठेगाना भर्ने ।

मितिः

यस महलमा विक्रम संवत् अनुसारको तत्कालको मिति लेख्ने ।

औँठाछापः

औँठाछाप लेखिएको तल पट्टीको कोठामा दायाँ लेखिएको माथि दायाँ हातको बुढी औँलाको र बायाँ लेखिएको माथि बायाँ हातको बुढी औँलाको छाप लगाउने । औँलाको छाप लगाउँदा स्पष्ट हस्तरेखा देखिने र कोठाभित्र पर्दे गरी लगाउनु पर्दछ ।  ५ वर्षभन्दा कम उमेरका नाबालकको हकमा औँठाछाप जरुरी पर्दैन ।

निवेदकको सहीः

निवेदकको सही लेखेको माथिको कोठामा दँयाँबायाँ तलमाथि कुनैपनि रेखा नछुने गरी आवेदकले हस्ताक्षर गर्ने । तर ५ वर्षभन्दा कम उमेरका नाबालिग तथा लेखपढ गर्न नसक्ने भएमा हस्ताक्षर गर्नुपर्ने बक्समा ´ चिन्ह लगाउनु पर्दछ ।

द्रष्टव्यः  * चिन्ह (Mark) भएका महलहरूमा माग भए बमोजिमको विवरण अनिवार्य रूपमा भर्नु पर्नेछ ।

फाराम प्रिन्ट गर्ने तरिका जानी राख्नुहोस । 

हुलाकबाट आवेदन फाराम पठाउँदा अधिकांश आवेदकले ठीक साइजको फाराम प्रिन्ट गरी नपठाएको पाईएकोले फाराम प्रिन्ट गर्दा विशेष ध्यान दिनुहुन अनुरोध छ । ठीक साइज नभएमा अनावश्यक समय तथा पटक पटक फाराम पठाउँदा हुलाकमा समेत बढी खर्च हुने गर्दछ । ठीक साइज नभएको फाराम मेसिनले पढ्न नसक्ने हुँदा फाराम प्रिन्ट गर्दा Exact size छापिनु अनिवार्य हुन्छ । जसका लागि माथिका विवरण भरे पश्चात् प्रिन्ट गर्दा कागजको Size A4 गरी फाराम साइज exact गर्नु पर्दछ । प्रिन्टर अनुसार Actual Size, Scaling None आदि गरी ठीक Size print गर्न सकिन्छ । प्रिन्ट भएको फाराममा सबभन्दा माथिको अक्षर बाट सबभन्दा तलको अक्षर सम्मको लम्बाइ २७ से. मी. हुनु पर्दछ । जानकारीका लागि तल बक्समा दिएको छ ।