राष्ट्रिय दिवस(संविधान दिवस) को अवसरमा साँस्कृतिक कार्यक्रम सहित रिसेप्सनको आयोजना

नेपाली राजदूतावास, डेनमार्कले आज कोपेनहेगनस्थित एशिया हाउसमा सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनायो । सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी ब्यानर प्रदर्शन गर्नुको साथै  नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न किसिमका पर्यटन सामग्रीहरु पनि वितरण गरिएको थियो ।
उक्त अवसरमा स्वागत मन्तब्य दिंदै महामहिम राजदूत श्री युवनाथ लम्सालले नेपालको संविधानले मानव अधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका जस्ता संसारका सर्वमान्य लोकतान्त्रिक सिद्धान्तहरुलाई राम्रोसंग अंगिकार गरेको र संविधान सभाबाट जारी यो संविधान संसारकै लागि एक नमूना संविधान भएको कुरा बताउनु भयो । वहाँले नेपालमा राजनीतिक स्थिरताको नयाँ युग शुरु भएको र समृद्ध नेपाल सुखी नेपाली अभियानमा सबैको सहयोग आवश्यक भएको कुरा अभिब्यक्त गर्नुभयो । शान्ति र लोकत्नत्रको विकल्प अरु कुनै हुन नसक्ने र समृद्धि र विकास लोकतन्त्रमा मात्र हुन सक्ने कुरा ब्यक्त गर्दै नेपालले जल, स्थल, आकास र समग्रमा विश्वमा नै शान्तिको मान्यता राख्ने कुरामा जोड दिनुभएको थियो ।साथै वहांले नेपाल आर्थिक र सामाजिक विकासतर्फ अघि बढेको र अहिले नेपालमा व्यापार र लगानी गर्न सबैभन्दा राम्रो समय भएकोले बैदेशिक लगानीको लागि आह्वान गर्नुभएको थियो  । राजनीतिक स्थिरता र शान्तिको पथमा अग्रसर नेपालमा पर्यटनका प्रशस्त संभावनाहरु भएका र नेपालले आउँदा वर्षलाई Visit Nepal  Year 2020 को रुपमा मनाउन लागेकोले यसको सान्दर्भिकता र महत्वको विषयमा पनि प्रकास पार्नु भएको थियो ।

नेपाली राजदूतावास
डेनमार्क ।
२०७६ असोज ३