राहदानी आवेदन दिने समय सम्बन्धी जरुरी सूचनाः यस दूतावासद्वारा राहदानी आवेदनका लागि यही १२ र १३ अक्टोवर २०२४ मा नर्बेको राजधानी ओस्लोमा घुम्ती सेवा संचालन गर्ने कार्यक्रम रहेको हुँदा सो दिनका लागि १२ र १३ डिसेम्बर २०२४ को विभिन्न समयमा राहदानी आवेदन बुकिङ्ग खुला गरिएको भएतापनि दूतावासमा राहदानीका लागि आवेदन दिने कार्य १३ डिसेम्बर २०२४ को दिन नियमित कार्यलय समय अर्थात दिउसो १२ः०० बजे देखी १५ः०० बजे र तोकिएको समयमा मात्र हुने व्यहोरा जानकारीका लागि अनुरोध गरिएको छ ।
यस दूतावासमा विद्युतीय राहदानी (electronic passport) का लागि आवेदन दिन सकिने छ । विद्युतीय राहदानीको आवेदन दिनका लागि निम्न प्रक्रिया अपनाउनु होला ।
(यस दूतावासबाट साबिकको यन्त्र वाचक राहदानी (Machine Readable Passport – MRP) जारी गर्न बन्द गरिएको हुँदा MRP का लागि आवेदन नपठाउनू हुन अनुरोध छ )
यस दूतावासको कार्यक्षेत्र अन्तर्गत डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लाट्भिया तथा लिथुआनिया पर्ने भएकोले उक्त मुलुकहरूमा रहेका नेपालीहरूले यस दूतावासमा राहदानीका लागि आवेदन दिन सक्नेछन् ।
१. विद्युतीय राहदानीको निमित्त आवेदन दिने तरिकाः
राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न प्रक्रिया अपनाउनु पर्दछ ।
क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस ।
ख) राहदानीका निमित्त आवेदन फाराम भर्ने तरिकाका लागि यहाँ थिच्नु होस् ।
ग) फाराम भर्दा तपाइले नेपाली दूतावास डेनमार्क छनौट गरे पछि विभिन्न विकल्प पाउनु हुने छ जसबाट आफूलाई अनुकूल हुने मिति र समय छनौट गर्नुहोस् ।
घ) ख्याल गर्नुहोस्ः राहदानी आवेदनमा त्रुटि हुन गएमा पुनः शुल्क तिरी नयाँ राहदानी आवेदन दिनु पर्ने भएकोले राहदानी आवेदनमा विवरण भर्दा होसियारी पूर्वक सही सूचना भर्नु होस । सकभर आफै भर्नुहोस र अरुले सहयोग गरेका छन् भने विवरण आफै रुजू गर्न नभुल्नू होला । राहदानी आवेदन भर्दा राजस्व दस्तुर भुक्तानीको Option देखा पर्ने छ । यो व्यवस्था नेपालबाट राहदानी लिनका लागि मात्र उपलब्ध भएको हुँदा दूतावासमा लागू हुँदैन । यसलाई केही गर्न पर्दैन । दूतावासमा बैङ्क ट्रान्सफर वा नगदमा राजस्व भुक्तानी हुने छ । विस्तृत जानकारी तल दिएको छ ।
ङ) फाराम बुझाए पछि तपाइले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुने छ । उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दूतावासमा आउनुहोस् । प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोवाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर आउँदा पनि हुन्छ । मोवाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला (screenshot होइन )
नोटः एक पटक फाराम बुझाए पछि तपाइँलाई कुनै त्रुटि भएको थाहा भयो भने दूतावासमा आउनु अघि सच्याउन सक्नु हुनेछ । साथै दूतावासमा फोटो खिच्ने समयमा पनि अनुरोध गरी सच्याउन सकिने छ । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन । त्यस पछि त्रुटि भएको थाहा भयो भने सबै प्रक्रिया पुनः सुरुबाटै गर्नु पर्ने हुन्छ ।
च) दूतावासमा तपाइका कागजात रुजू गरे पश्चात् राहदानीका लागि राजस्व दस्तुर बुझाउनु पर्दछ । बैङ्क मार्फत अगावै पनि रकम पठाउन सकिने छ तर एक पटक राजस्व रकम भुक्तानी गरे पछि फिर्ता गर्नका लागि लामो प्रक्रिया लाग्ने भएकोले के कति राजस्व आवश्यक पर्ने हो भनी सुनिश्चित गर्न राजस्व बुझाउनु अघि अनिवार्य रूपमा दूतावासमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
छ) राजस्व बुझाए पछि तस्विर, औँठाछाप तथा दस्तखत लिइन्छ र फारामलाई अन्तिम स्वीकृत गरिन्छ ।
ज) राहदानी तयार भई दूतावासमा प्राप्त भए पश्चात् आवेदकलाई ईमेल मार्फत त्यसको जानकारी गराइने छ । जानकारी पाए पछि पुरानो राहदानी र सुरुमा भरेको बारकोड सहितको आवेदन फाराम, नागरिकता/नाबालिग परिचयपत्रको सक्कल प्रति सहित उपस्थित हुनु पर्ने छ । यदि दूतावासमा उपस्थित हुन अनुकूल नभएमा आवेदकको खर्चमा हुलाक मार्फत पनि राहदानी पठाउन सकिने छ ।
झ) राहदानीको अवस्था थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था रहेको छ । तपाइँको राहदानी फाराम प्रक्रिया कहाँ पुग्यो भनी दूतावासबाट जानकारी गराउन सकिँदैन । साथै तपाइँको फाराम कुनै कारण बस रिजेक्ट भएमा त्यसको खबर तपाइँले पठाएको ई मेलमा प्राप्त हुन्छ । तपाइँलाई राहदानी तयार भएको वा रिजेक्ट भएको जानकारी भएमा मात्र दूतावासमा सम्पर्क गर्नु होला ।
२. राहदानीको निमित्त आवेदन दिँदा आवश्यक कागजातः
राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न अनुसारका कागजात पेस गर्नु पर्दछ ।
क) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (प्रिन्ट वा डिजिटल), (राहदानी फाराम भर्नको लागि यहाँ क्लिक गर्नु होस)
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्रको सक्कल प्रति र आमा-बाबु दुबैको नागरिकता प्रमाणपत्र तथा राहदानी,
ग) पुरानो राहदानी (पहिले बनाएको भएमा मात्र) सक्कल प्रति,
घ) सम्बन्धित देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)
ङ) राहदानी दस्तुर (दस्तुर सम्बन्धी जानकारी तल दिएको छ) ।
३. हुलाकमार्फत राहदानी प्राप्त गर्न गरिएको थप व्यवस्थाः
राहदानी सङ्कलन गर्न स्वयं उपस्थित हुन अनुकूल नभएमा हुलाकबाट राहदानी पठाउन अनुरोध गर्न सकिने छ । यसका लागि लाग्ने हुलाक/कुरियरको व्यवस्था आवेदक स्वयंले गर्नु पर्नेछ । नयाँ राहदानी जारी गर्दा पुरानो राहदानी रद्द गर्नु पर्ने भएकोले आवेदकले सक्कल राहदानी दूतावासमै बुझाउन सक्नेछन् । तर नयाँ राहदानी तयार भई प्राप्त नभए सम्मका लागि पुरानो राहदानी चाहिने भएमा निम्नअनुसार गर्नु होलाः
- सुरुमा आवेदन दिँदा पुरानो राहदानी आफै लैजाने ।
- दूतावासले राहदानी विभागबाट राहदानी तयार भई आएको सूचना गरेपछि सक्कल राहदानी दूतावासमा पठाउने ।
- सक्कल राहदानी प्राप्त भएपछि पुरानो राहदानी रद्द गरी नयाँ राहदानी सहित पुन आवेदकलाई पठाइनेछ । राहदानी पठाउने विस्तृत जानकारी तल दिएको छ ।
४. विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
क) अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (Birth Registration Certificate) लाई मुख्य आधार मानी दूतावासले कामचलाउ रूपमा दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् ।
अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,
आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि,
इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,
ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
उ) नाबालकको हालै खिचेको पासपोर्ट आकारको फोटो २ प्रति
माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम नागरिकता नम्बरको ठाउँमा यस दूतावासले उपलब्ध गराएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।
ख) याद गर्नुहोस्
-
-
- यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।
-
५. ५ वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिने सम्बन्धी विशेष व्यवस्थाः
५ वर्ष मुनिका बालबालिकाको लागि आवेदन दिँदा जैविक तथ्याङ्क (Biometric Data) अनिवार्य नभएकोले आवेदन दिँदा आवेदक स्वयं उपस्थित हुन अनिवार्य हुँदैन । आवेदक उपस्थित नभएको अवस्थामा माथि दिएको प्रक्रिया अनुसार फाराम भरी आवेदकको तस्विर मात्र पठाउनु पर्दछ । दूतावासमा उपस्थित भइ तस्विर खिच्नका लागि शान्तसँग बस्न सक्ने भएमा दूतावासमै उपस्थित भइ तस्विर खिच्न सकिन्छ, त्यस्तो अवस्थामा थप तस्विर आवश्यक पर्दैन ।
६. अन्य आवश्यक कागजातहरू (अनलाईन आवेदन दिँदा पेस गर्ने)
क) नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।
ख) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ ।
ग) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
७. राहदानीका लागि लाग्ने राजस्व दस्तुर तथा हुलाक सम्बन्धी व्यवस्थाः
१) राहदानीका लागि निम्न अनुसारको राजस्व तिर्नु पर्दछ ।
सेवा | राजस्व रकम (डेनिश क्रोनर) | ||
१० वर्ष पुगेका | १० वर्ष नपुगेका नाबालिग | ||
३४/३६ पृष्ठको राहदानी (नेपाल सरकारको निर्णय अनुसार दुवै प्रकारको राहदानीका लागि समान राजस्व लाग्ने) | नयाँ राहदानी आवेदन तथा नवीकरण | ९५०।०० | ४७५।०० |
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दा | १४५०।०० | ७२५।०० | |
सेवा | राजस्व रकम (डेनिश क्रोनर) | ||
१० वर्ष पुगेका | १० वर्ष नपुगेका नाबालिग | ||
६६ पृष्ठको राहदानी (नेपाल सरकारको निर्णय अनुसार उक्त राहदानीका लागि लाग्ने राजस्व) | नयाँ राहदानी आवेदन तथा नवीकरण | १३५०।०० | ६७५।०० |
पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दा | २०२०।०० | १०१०।०० | |
अस्थायी राहदानी | ४००।०० | ४००।०० | |
यात्रा अनुमति पत्र | ४००।०० | ४००।०० |
नोटः राहदानीका लागि राजस्व बैकबाट वा अनलाइन मार्फत रकम पठाउँदा डेनमार्क अवस्थित बैङ्कको डेनिश क्रोनर खाता भएमा थप बैङ्क शुल्क लाग्दैन । तर डेनमार्क बाहिर रहेका बैङ्कहरूबाट राजस्व पठाउँदा यदी sender will bear all the costs भन्ने option भएमा सो छनौट गर्नु होला यदी तस्तो option नभएमा बैङ्कले ५० क्रोनर बराबरको बैङ्क शुल्क लिने हुँदा राजस्व पठाउँदा माथिको रकममा ५० क्रोनर थप गरी रकम पठाउनु होला अन्यथा तोकिएको राजस्वको रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।
२) राहदानी हुलाक मार्फत पठाउने सम्बन्धमा थप व्यवस्थाः
यदी राहदानी बुझ्नका लागि दूतावासमा उपस्थित हुन नसक्ने अवस्था भएमा हुलाक/कुरियर मार्फत पठाउनका लागि अनुरोध गर्न सकिन्छ । यसका लागि निम्नअनुसार गर्नु होला ।
क) यदी हुलाक (postNord) मार्फत पठाउने हो भने postNord को वेव पेजमा लग इन गरी हुलाकका लागि अर्डर गर्नु पर्नेछ । रकम भुक्तानी लगायत सबै कार्य गरे पश्चात् labels प्राप्त हुनेछ । उक्त label प्रिन्ट गरी पुरानो राहदानी सँगै पठाउनु होस वा इमेल मार्फत दूतावासमा पठाउनु होस । लेवल प्राप्त भए पछि दूतावासबाट खाम तयार गरी पोष्टनर्ड मार्फत पठाइने छ । (लेवल प्रिन्ट गर्दा वा इमेल मार्फत पठाउँदा फोटो वा स्क्रिनसट नगरी मूल प्रति (original copy) पठाउनु होला । साथै मेल छनौट गर्दा रजिस्टर्ड र track गर्न सकिने गरि छनौट गर्न दूतावास सिफारिस गर्दछ ।)
ख) अन्य कुरियर सेवा मार्फत पठाउनका लागि तपाँइलाई उपयुक्त लागेको कुरीयर सेवा अर्डर गर्नुहोस र त्यसको लेवल(label) दूतावासमा पठाउनु होस् । यसका लागि दूतावासबाट मेल तयार भए पछि कुरियरलाई दूतावासमा आइ मेल सङ्कलन गर्ने अनुरोध गर्नुहोस् । यस प्रकारको कुरयिरका सेवाका लागि दूतावासबाट मेल dropbox सम्म पुर्याउन सकिने छैन ।
ग) सामान्यतः ३४ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ५० ग्राम तथा ६६ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ८० ग्राम हुने भएकोले कति वटा राहदानी पठाउनु पर्ने हो सोही अनुसार तौल छनौट गर्नु होला । एकै परिवारका धेरै सदस्यहरूको राहदानी भएमा एउटै मेलमा पठाउन सकिने भएकोले सोही अनुसार तौल छनौट गर्नु होला ।
(यस अघि हुलाकबाट राहदानी पठाउँदा सेवाग्राहीले दूतावासमा रकम पठाउने र दूतावासले मेल पठाउने गरिएकोमा अव उप्रान्त सेवा ग्राही स्वयंले नै हुलाक लेवल खरिद गरी दूतावासमा पठउने व्यवस्था गरिएकोले हुलाक वापतको रकम दूतावासमा नपठाउनुहुन यसै मार्फत जानकारी गराउदछौं )
नोटः तपाईको राहदानी कुरियरले हराईदिएमा दूतावास जिम्मेवार हुने छैन । तसर्थः कुरियर/हुलाक छनौट गर्दा विश्वासिलो र भरपर्दो कुरियर/हुलाक सेवा छान्नको लागि दूतावास अनुरोध गर्दछ। राहदानी हराएमा नियमानुसार दोब्बर दस्तुर तिरी पुनः आवेदन दिनु पर्नेछ।
३) राजस्व रकम अपुग भएमा पुनः पठाउँदा पुनः बैङ्क कमिसन तिर्नु पर्ने भएकोले रकम पठाउँदा जति रकम लाग्ने हो यकिन गरेर मात्र पठाउनु होला ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
नोटः
१) राजस्व रकम नगद वा बैङ्क ट्रान्सफर मार्फत मात्र बुझाउन सकिने छ । डेविट/क्रेडिट कार्डबाट भुक्तानी हुने व्यवस्था छैन ।
२) बैङ्क ट्रान्सफर गरी रकम पठाउँदा डास्के बैङ्क भए तुरुन्त खातामा जम्मा हुने, डेनमार्कका अन्य बैङ्कहरूबाट पठाउँदा express गरी पठाउनु पर्ने अन्यथा १-२ दिन सम्म लाग्ने तथा डेनमार्क बाहिरबाट रकम पठाउँदा सामान्यतः २ कार्य दिन लाग्ने भएकोले सोही अनुसार समयमै रकम ट्रान्फर गर्नुहोला । दूतावासको खातामा रकम जम्मा नभएसम्म सेवा प्रवाह हुन सक्ने छैन । विकल्पको रुपमा नगद पनि भुक्तानी गर्न सकिने छ ।
साथै एक पटक भुक्तानी भएको राजस्व सामान्यतः फिर्ता नहुने भएकोले राजस्वको यकिन गरी पठाउनु होला वा केही थप जानकारी चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला ।
४) राजस्व रकम पठाउँदा प्रयोजन र भुक्तानी कर्ताको नाम अनिवार्य रूपमा लेख्नु होला । उदाहरणका लागि हरी मगरको राहदानीका लागि पैसा पठाउँदा “Passport fee: Hari Magar” उल्लेख गर्नु होला ।
८. विद्युतीय राहदानी सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूः
-
-
- विद्युतीय राहदानी भनेको के हो?
-
विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप, तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज रूपमा कम्प्युटरमा लगि हेर्न, पढ्न र त्रुटि रहित रूपमा तुलना गर्न सकिने भएकोले व्यक्तिको सहि पहिचान हुन्छ जसका कारण यात्रा सहज हुन्छ । हालसम्म विभिन्न मुलुकमा जारी भएका राहदानीमा विद्युतीय राहदानी अत्याधुनिक मध्येमा पर्दछ । ICAO PKD मार्फत सूचनाहरू रुजू हुने हुँदा विभिन्न मुलुकका अध्यागमन विन्दुहरूमा निकै सहज र छिटो हुन्छ । अध्यागमन विन्दुहरूमा विद्युतीय ढोका भएमा स्वचालित विधि अवलम्बन गरिने भएकोले त्यस्तो ढोका प्रयोग गर्न विद्युतीय राहदानी अनिवार्य हुन्छ ।
-
-
- म सँग यन्त्र वाचक राहदानी छ, के विद्युतीय राहदानी बनाउनु पर्दछ?
-
पर्दैन ।
-
-
- के राजस्व रकम क्रेडिक कार्डबाट बुझाउन सकिन्छ?
-
सकिदैन । बैङ्क ट्रान्सफर वा नगद मात्र बुझाउन सकिने छ ।
-
-
- विद्युतीय राहदानी कहिले बनाउने?
-
हालको यन्त्र वाचक राहदानी (MRP) को म्याद १ वर्ष भन्दा कम भएमा विद्युतीय राहदानीका लागि आवेदन दिन सकिने छ ।
तर निम्न अवस्थामा भने १ वर्ष भन्दा बढी अवधि भएतापनि आवेदन गर्न सकिने छ ।
- राहदानी पुरानो भई पढ्न नसक्ने भएमा, च्यातिई, झुत्रो भई वा विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा,
- राहदानीका पानाहरू भरिई पर्याप्त पाना नभएमा,
- थर परिवर्तन भएमा,
- नाबालकको उमेर सोह्र वर्ष पुगी राहदानी लिन चाहेमा,
- राहदानी हराएको कारण देखाई निवेदन दिएमा,
- कुनै घटना, उपचार वा अन्य कारणबाट राहदानीमा रहेको फोटोभन्दा राहदानी वाहकको मुखाकृति फरक हुन गई सोको कारण सहित निवेदन दिएमा,
- बाहकको राहदानीमा उल्लेख भएको निकटतम व्यक्त वा जरुरी परेमा सम्पर्क गने व्यक्ति नाम, थर तथा ठेगाना परिवर्तन गर्नु भई सोको कारण र प्रमाण सहित निवेदन दिएमा ।
- राहदानीको पाना केरमेट भएको, पाना च्यातिएको वा विषेश परिस्थितिको कारणले राहदानी प्रयोग हुन नसक्ने भई सोको प्रमाण सहित निवेदन दिएमा,
- सम्बन्ध विच्छेद भएको महिलाले पूर्व पतिको थर नराखी राहदानी लिनको लागि सम्बन्ध विच्छेदको प्रमाण सहित निवेदन दिएमा ।
-
-
- विद्युतीय राहदानीका लागि आवेदन दिँदा तस्विर (Photo) आवश्यक पर्छ?
-
पाँच वर्ष पुगेका व्यक्तिको हकमा राहदानी आवेदन दिँदा स्वयं उपस्थित भइ तस्विर खिचिने भएकोले फोटो आवश्यक पर्दैन । पाँच वर्ष नपुगेका बालबालिकाको हकमा दूतावासमा उपस्थित नभएमा वा उपस्थित भएतापनि तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने भएमा भने तस्विर आवश्यक पर्दछ ।
-
-
- विद्युतीय राहदानीका लागि आवेदन दिएकोमा तयार भए नभएको कसरी थाहा पाउने?
-
राहदानीको अवस्था थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport App डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था मिलाइएको छ । तपाइँको राहदानी फाराम प्रक्रिया कहाँ पुग्यो भनी दूतावासबाट जानकारी गराउन सकिँदैन । साथै तपाइँको फाराम कुनै कारण बस रिजेक्ट भएमा त्यसको खबर तपाइँले पठाएको ई मेलमा प्राप्त हुन्छ । तपाइँलाई राहदानी तयार भएको वा रिजेक्ट भएको जानकारी भएमा मात्र दूतावासमा सम्पर्क गर्नु होला । राहदनी तयार भै दूतावासमा प्राप्त भए पश्चात् तपाइलाई त्यसको खबर आउने छ । तयार राहदानी प्राप्त भएको जानकारी दूतावासको वेव पेजमा समेत राखिने छ ।
-
- राहदानी हरायो, के गर्ने?
राहदानी हराएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि नयाँ राहदानी बनाउँदा अपनाउन पर्ने सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । स्मरण रहोस्, पुरानो राहदानी हराएमा वा च्यातिएमा वा केरमेट भइ प्रयोग गर्न नमिल्ने भएमा सो को सट्टा नयाँ राहदानी लिँदा माथिको दस्तुरको दोबर दस्तुर लाग्नेछ ।
-
-
- राहदानी बनाउन कति समय लाग्छ?
-
राहदानी बनाउनका लागि सामान्यतः आवेदन दिएको १ देखी २ महिना सम्म लाग्दछ ।
-
-
- अस्थायी राहदानी भनेको के हो ?
-
दूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिँदाका बखत राहदानी जरुरी परेको र उक्त राहदानी बनेर आउने समयसम्म पर्खन नसक्ने भएमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ । अस्थायी राहदानी हस्त लिखित भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन तर यस्तो राहदानीबाट कतिपय मुलुकमा भिषाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्त लिखित राहदानीबाट भिषा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।
विद्युतीय राहदानीका लागि आवेदन दिए पछि मात्र अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ ।
-
-
- विदेशमा रहेका समयमा जन्मिएका सन्तानको राहदानी कसरी बनाउने?
-
राहदानी बनाउनका लागि माथि बुँदा २ मा उल्लेख भए अनुसार गर्नु होला । यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमति पत्रका लागि दूतावासमा आवेदन दिन सकिने छ । विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ ।
-
-
- हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
-
हराएको राहदानी भेटिएमा तुरुन्तै दूतावासमा सम्पर्क गरी राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।
-
-
- राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?
-
राहदानी छपाइ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि राहदानी बनाउनका लागि पुनः आवस्यक सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्दछ र नियमानुसारको दस्तुर बुझाउनु पर्ने हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा राहदानी विभागमा समेतआवेदन दिन सकिन्छ ।
-
-
- के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
-
बन्दैन । राहदानी नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।
-
-
- राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनु पर्यो, के गर्ने ?
-
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयद्वारा निर्धारित ढाँचामा जारी गरिएको नागरिकता प्रमाणीकरण(पहिलो पटक नेपालबाट एम आर पी लिनेले मात्र), पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा सम्पर्क राख्न सकिन्छ । विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ ।
-
-
- राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
-
सकिँदैन ।
-
-
- राहदानी लिन आउँदा के के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफै आउनु पर्दछ?
-
राहदानी बुझ्न आउँदा पुरानो सक्कल राहदानी (हराएको भनी आवेदन दिएकोमा बाहेक), उपलब्ध भए सम्म नागरिकता र कुनै परिचयपत्र साथमा लिई आउनु पर्दछ । कागजात लिई आएमा तुरुन्तै राहदानी हस्तान्तरण गरिन्छ । राहदानी लिन स्वयं उपस्थित हुनु पर्दछ तर नाबालिगको हकमा निजको आमा वा बुवा आउनु पर्दछ ।
यदी कुनै कारण बस स्वयं उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिने छ । यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी समेत साथमा लिई आउनु पर्नेछ ।
-
-
- एमआरपी बहाल रहेको अवस्थामा विद्युतीय राहदानी बनाउन सकिन्छ?
-
सामान्यतः ६ महिना भन्दा बढी अवधि भएको राहदानी बहाल रहेको अवस्थामा नयाँ राहदानीका लागि आवेदन दिन नसकिने भएतापनि राहदानी बनाउन लाग्ने प्रक्रिया तथा सेवा ग्राहीको सुविधालाई ध्यानमा राखी १ वर्ष भन्दा कम अवधि बहाल रहेको अवस्थामा नयाँ राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । त्यसरीनै राहदानी हराएमा वा च्यातिई, जली, मसी पोखिई वा अन्य कारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ ।
यदी राहदानीको बहाल अवधि १ वर्ष भन्दा कम छ भने राहदानीका लागि आवेदन दिन सकिन्छ । तर राहदानीको अवधि १ वर्ष भन्दा बढी अवधिको छ तर आफूलाई उक्त अवधि भन्दा बढी अवधिको राहदानी आवश्यक पर्यो भने उचित कारण र सो को पुष्टि गर्ने कागजात सहित दूतावासलाई अनुरोध गर्न सकिने छ र यस सम्बन्धमा दूतावासले आवश्यक परामर्श दिने छ ।
-
-
- राहदानी बहाल रहेको अवस्थामा विद्युतीय राहदानी बनाउन आवश्यक परेमा के गर्ने?
-
सामान्यतः १ वर्ष सम्म मात्र म्याद बाँकी छ भने राहदानीका लागि आवेदन दिन सकिन्छ । यदी १ वर्ष भन्दा बढी २ वर्ष अवधि सम्म बहाल रहेको अवस्थामा उचित कारण सहित निवेदन दिएमा राहदानी नवीकरण हुन सक्छ । तर २ वर्ष भन्दा बढी बहाल रहेको अवस्था छ र राहदानी नवीकरण गर्न आवश्यक छ भने के कारणले नवीकरण गर्नु पर्ने हो सो को पुष्टि हुने कागजात सहित निवेदन दिन सकिन्छ । यस प्रकार निवेदन दिएमा दूतावासले विचार गरी आवश्यक परामर्श दिने छ ।
-
-
- विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?
-
राहदानीका लागि दूतावासमा आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । याद गर्नुहोसः- यदि तपाँइसँग राष्ट्रिय परिचय पत्र छ भने पनि अर्को व्यवस्था नभए सम्मका लागि हाललाई फाराम भर्दा यसको उल्लेख नगर्नू होला ।
दूतावासबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन । त्यसैले यदी नेपाल जानु भयो भने राष्ट्रिय परिचयपत्र बनाउनु हुन सुझाव दिइन्छ । यदी नेपाल गइएन र राष्ट्रिय परिचय पत्र छैन भने पनि एक पटकका लागि नियमानुसारको अवधि (२ वा ५ वा १० वर्ष) रहने गरी विद्युतीय राहदानी जारी हुन्छ र उक्त अवधि भित्र नेपाल गई राष्ट्रिय परिचय पत्र बनाउन सकिने छ ।
-
-
- विद्युतीय राहदानीका लागि थप जानकारी कहाँ पाउन सकिन्छ?
-
विद्युतीय राहदानी सम्बन्धी थप जानकारीका लागि राहदानी विभागको वेव पेजमा हेर्नु होला (यहाँ क्लिक गर्नु होस) ।
साथै राहदानी सम्बन्धी केही बुझ्नु परेमा निम्न ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
email: nepalpassport@gmail.com
Telephone: (+45) 44 44 40 26/35