राहदानी (Passport)
यस दूतावासको कार्यक्षेत्र अन्तर्गत डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लाट्भिया तथा लिथुआनिया पर्ने भएकोले उक्त मुलुकहरूमा रहेका नेपालीहरूले यस दूतावासमा राहदानीका लागि आवेदन दिन सक्नेछन् ।
१. राहदानीको निमित्त आवेदन दिने तरिकाः
राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा सकभर स्वयं उपस्थित हुनु पर्दछ । नाबालिगको हकमा बाबु/आमा मध्ये कुनै एक उपस्थित हुनु पर्दछ । स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा वा डेनमार्क बाहेक अन्य मुलुकहरूबाट आवेदन दिनु पर्नेमा कुरियर मार्फत पनि आवेदन दिन सकिनेछ । आवेदन दिँदा निम्न कागजात पेश गर्नु पर्ने छ ।
क) रीत पूर्वक भरिएको आवेदन फाराम २ प्रति, (राहदानी फारामको लागि यहाँ क्लिक गर्नु होस, फाराम भर्ने सहज जानकारीका लागि यहाँ क्लिक गर्नु होस)
ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति र नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्र र आमा-बावु दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
ग) पुरानो राहदानीको सक्कल र प्रतिलिपि एक प्रति,
घ) स्वयं उपस्थित नहुने आवेदकको हकमा आवेदक उक्त देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)
ङ) ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो ४ प्रति, (फोटोको मापदण्डका लागि यहाँ क्लिक गर्नु होला) ।
च) राहदानी दस्तुर (दस्तुर सम्बन्धी जानकारी तल दिएको छ) ।
२. हुलाकमार्फत आवेदन फाराम पठाउँदा गरिएको थप व्यवस्थाः
राहदानी आवेदन फाराम साथ सक्कल राहदानी पठाउनुपर्ने भएतापनि हुलाकबाट फाराम पठाउँदा सक्कल राहदानी पठाएमा नयाँ राहदानी तयार भै पठाउन समय लाग्ने र त्यस बीचमा राहदानी आवश्यक पर्न सक्ने भएकोले निम्न व्यवस्था गरिएको छः
- सुरुमा आवेदन फाराम पठाउँदा राहदानीको प्रतिलिपि मात्र पठाउने ।
- दूतावासले राहदानी विभागबाट राहदानी तयार भई आएको सूचना गरेपछि सक्कल राहदानी दूतावासमा पठाउने ।
- सक्कल राहदानी प्राप्त भएपछि पुरानो राहदानी रद्द गरी नयाँ राहदानी सहित पुन आवेदकलाई पठाइनेछ ।
- यदि आवेदकलाई नयाँ राहदानी प्राप्त हुने समयसम्म पुरानो राहदानी चाहिदैंन भन्ने निश्चित लागेमा हुलाक खर्चको बचत गर्नका लागि आवेदनसाथ सक्कल राहदानी पठाउन सकिनेछ । तर कतिपय अवस्थामा बीचमा राहदानी जरुरी पर्ने गरेको देखिएकोले राहदानी जरुरी नहुने सुनिश्चित गरी मात्र पठाउनुहोला ।
३. विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
क) अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (Birth Registration Certificate) लाई मुख्य आधार मानी दूतावासले कामचलाउ रुपमा दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् ।
अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,
आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि,
इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,
ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,
ख) फाराम भर्दा अस्थायी नम्बर प्रयोग हुनेः नाबालिगको राहदानीको आवेदन फाराम भर्दा उक्त फारामको बुँदा नं. ७ मा उल्लिखित नागरिकता वा अनुमति नं. को ठाउँमा यस दूतावासले उपलब्ध गराएको दर्ता नम्बर, बुँदा नं. ८ मा दूतावासले उपलब्ध गराएको दर्ता मिति र बुँदा नं. ९ मा जारी स्थान डेनमार्क उल्लेख गर्नु पर्नेछ । यसका लागि नावालिगको जन्म दर्ता प्रमाणपत्र, आमा बाबुको नागरिकता र विवाह दर्ता सहित निवेदन दिनु पर्नेछ ।
याद गर्नुहोस्
-
-
- यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।
-
४. अन्य आवश्यक कागजातहरूः
क) नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।
ख) विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ ।
ग) पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।
५. राहदानीका लागि लाग्ने राजस्व दस्तुरः
राहदानीका लागि निम्न अनुसारको राजस्व तिर्नु पर्दछ ।
सेवा | राजस्व रकम (डेनिश क्रोनर) | |
१० वर्ष पुगेका | १० वर्ष नपुगेका नाबालिग | |
एमआरपी नयाँ आवेदन तथा नवीकरण | ९५०।०० | ४७५।०० |
एमआरपी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले बनाउनु पर्दा | १९००।०० | ९५०।०० |
अस्थायी राहदानी | ३५०।०० | ३५०।०० |
यात्रा अनुमति पत्र | २८०।०० | २८०।०० |
नोटः १) राहदानीका लागि राजस्व बैकबाट वा अनलाइन मार्फत पठाउँदा बैङ्क दस्तुर बापत माथिको रकममा ५० क्रोनर थप रकम पठाउनु पर्नेछ । सो नभएमा तोकिएको राजस्वको रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।
२) यदी राहदानी हुलाक मार्फत पठाउनु पर्ने रहेछ भने हुलाक खर्च समेत आवेदकले बेहोर्नु पर्ने छ । जसका लागि निम्न अनुसारको थप शुल्क पठाउनु पर्ने छ ।
-
-
- डेनमार्कः डेनिश क्रोनर ९९।००
- फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लेट्भिया तथा लिथुआनियाः डेनिस क्रोनर १३२।००
-
३) राजस्व रकम अपुग भएमा पुनः पठाउँदा पुनः बैङ्क कमिसन तिर्नु पर्ने भएकोले रकम पठाउँदा जति रकम लाग्ने हो यकिन गरेर मात्र पठाउनु होला ।
राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
६. राहदानी सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूः
-
-
- राहदानी हरायो, के गर्ने?
-
राहदानी हराएमा नयाँ राहदानी लिनु पर्दछ । यसका लागि नयाँ राहदानी बनाउँदा अपनाउन पर्ने सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । स्मरण रहोस्, पुरानो राहदानी हराएमा वा च्यातिएमा वा केरमेट भै प्रयोग गर्न नमिल्ने भै सो को सट्टा नयाँ राहदानी लिनु परेमा माथिको दस्तुरको दोब्बर दस्तुर लाग्नेछ ।
-
-
- राहदानी बनाउन कति समय लाग्छ?
-
राहदानी बनाउनका लागि सामान्यतः ११/२ देखी २१/२ महिना सम्म लाग्दछ ।
-
-
- अस्थायी राहदानी भनेको के हो ?
-
दूतावासमा एमआरपीका लागि आवेदन दिदाँका बखतनै राहदानी जरूरी परेको र एमआरपी बनेर आउने समय सम्म पर्खन नसक्ने भएमा अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ । अस्थायी राहदानी हस्त लिखित भएकोले सामान्यतः विदेश भ्रमण गर्न मिल्दैन तर यस्तो राहदानीबाट भिषाको लागि आवेदन दिन सकिन्छ र नेपाल फर्कन पनि सकिन्छ । आफू रहेको मुलुकमा हस्त लिखित राहदानीबाट भिषा आवेदन दिन सकिने/नसकिने यकिन गरी अस्थायी राहदानीका लागि आवेदन दिनु पर्दछ ।
एमआरपीका लागि आवेदन दिए पछि मात्र अस्थायी राहदानीका लागि आवेदन दिन सकिने छ ।
-
-
- विदेशमा रहेका समयमा जन्मिएका सन्तानको राहदानी कसरी बनाउने?
-
राहदानी बनाउनका लागि माथि बुँदा २ मा उल्लेख भए अनुसार गर्नु होला । यदि बच्चासहित तत्काल नेपाल फर्कनु पर्ने भएमा यात्रा अनुमति पत्रका लागि दूतावासमा आवेदन दिन सकिने छ । विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका बच्चाको हकमा राहदानीका लागि बाबु नागरिक रहेको मुलुकको सम्बन्धित निकायमा सम्पर्क राख्नु पर्दछ ।
-
-
- हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
-
हराएको राहदानी भेटिएमा जुन दूतावासमा सम्पर्क गरी राहदानी रद्द गराउनु पर्दछ । हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी प्रयोग गर्न मिल्दैन । हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अनुसार कारबाही हुन्छ ।
-
-
- राहदानीमा भएको विवरणमा त्रुटि देखिएमा के गर्ने ?
-
राहदानी छपाइ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिन पर्दछ । यदि विभाग/कार्यालयको गल्तीका कारण फाराममा भएको विवरण भन्दा राहदानीमा छापिएको विवरण फरक परेमा एक वर्षभित्र र राहदानी प्रयोग नभएको भएमा पुनः दस्तुर लाग्दैन । अन्यथा नियमानुसार दस्तुर लाग्ने हुन्छ । यस प्रकारको त्रुटि सच्याउन लागि सम्बन्धित कार्यालय वा विभागमा आवेदन दिन सकिन्छ ।
-
-
- के राहदानी नवीकरण गर्दा पुरानो संख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
-
बन्दैन । राहदानी नवीकरण गर्दा नयाँ संख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी संख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा जुन मुलुकको भिसा लिएको हो, सोही मुलुकको आधिकारिक निकायसँग बुझ्नु राम्रो हुन्छ ।
-
-
- राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनु पर्यो, के गर्ने ?
-
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयद्वारा निर्धारित ढाँचामा जारी गरिएको नागरिकता प्रमाणीकरण(पहिलो पटक नेपालबाट एम आर पी लिनेले मात्र), पुरानो राहदानी/यात्रा अनुमतिपत्र र रसिद लिई विभागमा सम्पर्क राख्न सकिन्छ । विभागबाट कागजात रुजू गरी राहदानी जारी गरिन्छ ।
-
-
- राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
-
सकिँदैन ।
-
-
- राहदानी जरुरी परेमा के गर्ने ?
-
विदेशमा रहेका बखत तुरुन्त राहदानी लिन परेमा आवेदक स्वयंले खर्च बेहोर्ने गरी दूतावासबाट प्रमाणित गरिएको फाराम राहदानी विभाग काठमाडौं पठाउन सकिन्छ । यसका लागि यस दूतावासमा एक निवेदन दिए पछि दूतावासले पत्र सहित राहदानी फारामा तयार गरी आवेदकलाई उपलब्ध गराउँछ । उक्त फाराम आवेदकले द्रुत मेलबाट राहदानी विभागमा पठाई तयार भएको राहदानी आवेदकका आफन्त मार्फत राहदानी विभागमा गई बुझी लिइ कुरीयर सेवा मार्फत यस दूतावासमा पठाउनु पर्ने छ । राहदानी प्राप्त भए पछि दूतावासबाट सम्बन्धित व्यक्तिको नाममा राहदानी जारी हुन्छ ।
-
-
- एमआरपी बहाल रहेको अवस्थामा नयाँ बनाउन सकिन्छ?
-
सामान्यतः ६ महिना भन्दा बढी अवधि भएको राहदानी आफूसँग भएमा नयाँ राहदानी बनाउन सकिँदैन । तर राहदानी हराएमा वा च्यातिई, जलि, मसी पोखिई वा अन्य कारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ । यदी राहदानीकी अवधि छ महिना भन्दा बढी छ तर लामो समयका लागि भिसा आवेदन दिनु पर्नाको कारणले वा अन्य कुनै उचित कारणले अहिले नै राहदानी नवीकरण गर्नु परेमा सोही कारण खोली दूतावासलाई अनुरोध गर्न सकिने छ र यस सम्बन्धमा दूतावासले आवश्यक परामर्श दिने छ ।
राहदानी सम्बन्धी थप जानकारीका लागि निम्फोन ठेगानामा सम्पर्क गर्नु हुन अनुरोध छ ।
email: nepalpassport@gmail.com
Telephone: (+45) 44 44 40 26/35
साथै यस सम्बन्धी महत्वपूर्ण जानकारीहरू राहदानी विभागको वेब पेज https://nepalpassport.gov.np/ मा समेत हेर्न सकिने छ ।