यन्त्रवाचक राहदानी (Machine Readable Passport – MRP)

यस दूतावासको कार्यक्षेत्र अन्तर्गत डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लाट्भिया तथा लिथुआनिया पर्ने भएकोले उक्त मुलुकहरूमा रहेका नेपालीहरूले यस दूतावासमा राहदानीका लागि आवेदन दिन सक्नेछन् ।

१.     राहदानीको निमित्त आवेदन दिने तरिकाः  

राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा सकभर स्वयं उपस्थित हुनु पर्दछ । नाबालिगको हकमा बाबु/आमा मध्ये कुनै एक उपस्थित हुनु पर्दछ । स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा  वा डेनमार्क बाहेक अन्य मुलुकहरूबाट आवेदन दिनु पर्नेमा कुरियर मार्फत पनि आवेदन दिन सकिनेछ । आवेदन दिँदा निम्न कागजात पेश गर्नु पर्ने छ ।

क)  रीत पूर्वक भरिएको आवेदन फाराम २ प्रति, (राहदानी फारामको लागि यहाँ क्लिक  गर्नु होस, फाराम भर्ने सहज जानकारीका लागि यहाँ क्लिक  गर्नु होस)

ख)  नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति र नाबालिगको हकमा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचय पत्र र आमा-बावु दुबैको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

ग) पुरानो राहदानीको सक्कल र प्रतिलिपि एक प्रति,

घ) स्वयं उपस्थित नहुने आवेदकको हकमा आवेदक उक्त देशमा रहेको प्रमाण जनाउने कागजात (जस्तै, आवास अनुमति पत्र, entry stamp सहितको भिसाको प्रति आदि)

ङ) ६ महिना भित्र खिचेको मापदण्ड मिलेको फोटो २ प्रति, (फोटोको मापदण्डका लागि यहाँ क्लिक  गर्नु होला) ।

च) राहदानी दस्तुर (दस्तुर सम्बन्धी जानकारी तल दिएको छ) ।

२. हुलाकमार्फत आवेदन फाराम पठाउँदा गरिएको थप व्यवस्थाः

राहदानी आवेदन फाराम साथ सक्कल राहदानी पठाउनुपर्ने भएतापनि हुलाकबाट फाराम पठाउँदा सक्कल राहदानी पठाएमा नयाँ राहदानी तयार भै पठाउन समय लाग्ने र त्यस बीचमा राहदानी आवश्यक पर्न सक्ने भएकोले निम्न व्यवस्था गरिएको छः

  • सुरुमा आवेदन फाराम पठाउँदा राहदानीको प्रतिलिपि मात्र पठाउने ।
  • दूतावासले राहदानी विभागबाट राहदानी तयार भई आएको सूचना गरेपछि सक्कल राहदानी दूतावासमा पठाउने ।
  • सक्कल राहदानी प्राप्त भएपछि पुरानो राहदानी रद्द गरी नयाँ राहदानी सहित पुन आवेदकलाई पठाइनेछ ।
  • यदि आवेदकलाई नयाँ राहदानी प्राप्त हुने समयसम्म पुरानो राहदानी चाहिदैंन भन्ने निश्चित लागेमा हुलाक खर्चको बचत गर्नका लागि आवेदनसाथ सक्कल राहदानी पठाउन सकिनेछ । तर कतिपय अवस्थामा बीचमा राहदानी जरुरी पर्ने गरेको देखिएकोले राहदानी जरुरी नहुने सुनिश्चित गरी मात्र पठाउनुहोला ।

विषेश ध्यान दिनु पर्ने कुराः

हुलाकबाट आवेदन फाराम पठाउँदा अधिकांश आवेदकले ठीक साइजको फाराम प्रिन्ट गरी नपठाएको पाईएकोले फाराम प्रिन्ट गर्दा विशेष ध्यान दिनु हुन अनुरोध छ । फाराम ठीक साइजको नभएमा अनावश्यक समय तथा पटक पटक फाराम पठाउँदा हुलाकमा समेत बढी खर्च लाग्छ । ठीक साइज नभएको फाराम मेसिनले पढ्न नसक्ने भएकोले Exact size को फाराम अनिवार्य हुन्छ । जसका लागि माथिका विवरण भरे पश्चात् प्रिन्ट गर्दा कागजको Size A4 गरी फाराम साइज exact गर्नु पर्दछ । प्रिन्टर अनुसार Actual Size, Scaling None आदि गरी ठीक Size print गर्न सकिन्छ । प्रिन्ट भै सके पछि ठीक बेठीक थाहा पाउन फारामको सबभन्दा माथिको अक्षर बाट सबभन्दा तलको अक्षर सम्म मापन गर्नु होला । यदी लम्बाइ २७ से. मी. छ भने फाराम ठीक छ । Print setting को जानकारी तल बक्समा दिएको छ । फाराम भर्ने र प्रिन्ट गर्ने थप जानकारीका लागि यहाँ क्लिक गर्नु होला ।

 

३.     विदेशमै जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः   

क)    अस्थायी नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्र (Birth  Registration Certificate) लाई मुख्य आधार मानी दूतावासले कामचलाउ रुपमा दर्ता किताब खडा  गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलमा भर्नु पर्दछ । जसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्छन् ।

अ) आमा बाबु दुवै जनाको नागरिकताको प्रतिलिपि,

आ) आमा बाबु दुबैजानाको राहदानीको प्रतिलिपि,

इ) आमा बाबुको विवाह दर्ताको प्रमाणपत्र,

ई) नाबालकको जन्म दर्ताको सक्कल प्रति र सोको प्रतिलिपि १ प्रति,

उ) नाबालकको हालै खिचेको पासपोर्माट साईजको फोटो २ प्रति

माथि उल्लिखित कागजात सहित दूतावासमा आवेदन दिए पछि दूतावासले अस्थायी नम्बर उपलब्ध गराउनेछ । नाबालिगको राहदानीको आवेदन फाराम भर्दा उक्त फारामको बुँदा नं. ७ मा उल्लिखित नागरिकता वा अनुमति नं. को ठाउँमा यस दूतावासले उपलब्ध गराएको दर्ता नम्बर, बुँदा नं. ८ मा दूतावासले उपलब्ध गराएको दर्ता मिति र बुँदा नं. ९ मा जारी स्थान डेनमार्क (DENMARK) उल्लेख गर्नु पर्नेछ ।

ख) याद गर्नुहोस्

      • यसरी एक पटक नाबालिगका नाममा राहदानी जारी गरे पश्चात् अर्को पटक राहदानी जारी गर्नका लागि नाबालिग परिचयपत्र अनिवार्य हुने भएकोले यसरी राहदानी बनाए पछि अनिवार्य रूपमा नेपाल गई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयबाट नाबालिग परिचयपत्र बनाउनु होला ।
४. अन्य आवश्यक कागजातहरूः

क)    नागरिकतामा रहेको जन्म मिति र शैक्षिक योग्यतामा रहेको जन्म मिति फरक परेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा रहेको जन्म मिति कायम गरी राहदानी लिनु पर्ने अवस्थामा एसएलसी वा सो सरह वा सो भन्दा माथिल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र ।

ख)    विवाहित महिलाले नागरिकतामा रहेको थरको अतिरिक्त पतिको थर कायम गरी राहदानी बनाउनु पर्ने भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र, तर विदेशी नागरिकसँग विवाह गरी विदेशको नागरिकता नलिएको महिलाको हकमा निजको पुरानो राहदानीमा उल्लेख भएको थर वा नागरिकतामा उल्लिखित थर मात्र कायम हुने छ ।

ग)     पारपाचुके गरेका महिलाहरूले नागरिकतामा उल्लेख गरिएको थर मात्र कायम गरी राहदानी लिन चाहेमा पारपाचुके प्रमाणपत्र ।

५. राहदानीका लागि लाग्ने राजस्व दस्तुरः 

राहदानीका लागि निम्न अनुसारको राजस्व तिर्नु पर्दछ ।

सेवा राजस्व रकम (डेनिश क्रोनर)
१० वर्ष पुगेका १० वर्ष नपुगेका नाबालिग
एमआरपी नयाँ आवेदन तथा नवीकरण ९५०।०० ४७५।००
एमआरपी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले बनाउनु पर्दा १९००।०० ९५०।००
अस्थायी राहदानी  ४००।०० ४००।००
यात्रा अनुमति पत्र ४००।०० ४००।००

नोटः १) राहदानीका लागि राजस्व बैकबाट वा अनलाइन मार्फत पठाउँदा बैङ्क दस्तुर बापत माथिको रकममा ५० क्रोनर थप रकम पठाउनु पर्नेछ । सो नभएमा तोकिएको राजस्वको  रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ ।

२) यदी राहदानी हुलाक मार्फत पठाउनु पर्ने रहेछ भने हुलाक खर्च समेत आवेदकले बेहोर्नु पर्ने छ । जसका लागि निम्न अनुसारको थप शुल्क पठाउनु पर्ने छ ।

      • डेनमार्कः डेनिश क्रोनर ९९।००
      • फिनल्याण्ड, आइसल्याण्ड, नर्वे, स्वीडेन, स्टोनिया, लेट्भिया तथा लिथुआनियाः डेनिस क्रोनर १३२।००

३) राजस्व रकम अपुग भएमा पुनः पठाउँदा पुनः बैङ्क कमिसन तिर्नु पर्ने भएकोले रकम पठाउँदा जति रकम लाग्ने हो यकिन गरेर मात्र पठाउनु होला ।

राजस्व रकम पठाउने खाताको विवरणः
Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK     

राहदानी जरूरी परी हस्ते उपलब्ध गराउनु परेमा भर्नु पर्ने फाराम