COVID-19 भाइरस सम्बन्धमा दूतावासको अनुरोध

१. माननीय उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयअनुसार युरोप, पश्चिम एसिया, तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई २०७६ चैत्र ७ गते शुक्रबार (२० मार्च २०२०) नेपाली समयको मध्यरात देखी लागु हुने गरी २०७६ चैत्र ३० गते आइतबार (१२ अप्रिल २०२०) सम्म आगमनमा प्रतिबन्ध लगाएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

२. यस दूतावासको कार्यक्षेत्र अन्तरगत पर्ने मुलुकहरु डेनमार्क, नर्वे, स्वीडेन, फिनल्याण्ड, आइसल्याण्ड, लिथुआनिया, लात्भिया तथा स्तोनियामा COVID-19 भाइरसको सङ्क्रमण बढी रहेकोले यसको संक्रमणबाट जोगिन, आफु बच्न र अरुलाई बचाउन दूतावास हार्दिक अनुरोध गर्दछ । यसका लागि हामी सबै सचेत तथा सुसूचित रही निम्नअनुसार गर्नका लागि तत् तत् मुलुकमा रहेका नेपालीहरुलाई दूतावास हार्दिक अनुरोध गर्दछ ।

  • सकभर घरमै रहने । भीडभाड हुने स्थानहरुमा नजाने । जानै पर्ने अवस्थामा मास्कको प्रयोग गर्ने ।
  • साबुन पानीले पटक पटक हात धुने वा Hand Sanitizer ले नियमित रुपमा हात सफा गर्ने ।
  • खोक्दा वा हाछ्युँ गर्दा टिस्यु पेपर वा कुहिनोको भित्री भागले नाक र मुख छोप्ने ।
  • सामाजिक भेटघटमा कम्तीमा पनि १ मिटर (३ फिट) को दूरी कायम गर्ने । शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने ।
  • आफ्नो घर तथा कार्यस्थलको सरसफाइमा ध्यान दिने । 
  • आफू बिरामी परेको बेलामा घरमा छुट्टै कोठामा बस्ने र विशेष सतर्कता अपनाउने ।
  • ज्वरो, रुघा, खोकी वा श्वास प्रश्वासमा समस्या देखिएमा अरुबाट टाढा रही तुरुन्त चिकित्सकको सल्लाह लिई सल्लाह अनुसार गर्ने ।
  • उच्च रक्तचाप, मुटु, मृगौला तथा श्वासप्रश्वासका बिरामी एवं गर्भवती महिलाहरुले विशेष सावधानी अपनाउने ।
  • सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्नुपर्ने व्यक्तिहरुले सेवाग्राहीहरुसँग कम्तिमा १ मिटरको दूरी कायम गरी मास्क लगाई काम गर्ने ।
  • आँखा, नाक र मुखमा सकभर नछुने र छुनै परेमा हात पूर्ण रूपले सफा गरी छुने ।
  • जरुरी परी यात्रा गर्नु परेमा सकभर सार्वजनिक यातायातका साधनमा नगर्ने र यात्रा गर्नै परेमा मास्कको प्रयोग गर्ने ।

३. COVID-19 भाईरस रोकथामका लागि आफू बस्ने मुलुकले विभिन्न जानकारी/आदेशहरु जारी गरेकोले यस विषयमा अध्यावधिक जानकारी लिई सोही अनुसार गर्नु हुन अनुरोध छ । सहजताको लागि निम्न वेव पेज दिईएको छ ।

४. COVID-19 भाईरस नयाँ भएकोले हालसम्म यसको व्यवहार बारेमा सिमित ज्ञान मात्र उपलब्ध छ । तसर्थ विभिन्न हल्लाहरु फैलने तर्फ सावधान रही आ-आफ्नो चिकित्सक वा आधिकारीक निकायबाट सही जानकारी लिने गरौ ।  

 “सही जानकारी लिउ, सहयोगी बनौं र मिलेर रोगलाई परास्त गरौं”

नेपाली राजदूतावास, कोपनहेगन

  २०७६ चैत्र ६